न्यूज डेस्क | जेठ ८, २०८३ शुक्रबार
सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको भित्री मुख्य हलमा नीलो रङ्ग प्रमुख रूपमा प्रयोग गरिएको देखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ले चुनावी अभियानका क्रममा भरतपुर विमानस्थल आसपास नीलो जस्ताले छाएका घर देख्दा उत्साहित भएको अभिव्यक्ति दिएका प्रसङ्गसँग जोड्दै अहिले भवनको आन्तरिक डिजाइनमा पनि सोही रङ्गको प्रभाव देखिएको चर्चा सुरु भएको छ।
पत्रकारहरूलाई गराइएको हालैको अवलोकन भ्रमणमा भवनको भित्री सजावट, पर्दा तथा भित्तामा नीलो रङ्ग हावी रहेको देखिएको बताइएको छ। प्रारम्भिक डिजाइनभन्दा फरक गरी रंग परिवर्तन गरिएको दाबी पनि स्रोतहरूले गरेका छन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी सँग जोडेर नीलो रङ्गको प्रयोगलाई केहीले राजनीतिक संकेतका रूपमा व्याख्या गरेका छन्। यसअघि सोही दलका सांसदहरूले संसद बैठकमा नीलो स्कार्फ लगाएर विरोध जनाएका प्रसङ्ग पनि स्मरण गरिएको छ।
प्रतिनिधिसभा भवन सञ्चालनसँग सम्बन्धित तयारीका क्रममा रंग तथा आन्तरिक सजावटलाई लिएर विभिन्न कोणबाट टिप्पणीहरू भइरहेका छन्।
सभामुख डिपी अर्याल ले निष्पक्षताको सन्देश दिन पार्टीगत आवद्धता त्यागिसकेको पृष्ठभूमिमा पनि रंग चयनलाई लिएर बहस चर्किएको छ। यद्दपी रास्वपा समर्थकहरुले भने यसअघि बानेश्वरमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघिय संसदको कुर्सीहरु र भित्ताको रंग समेत आकाशी निलो रहेको प्रतिक्रिया दिदै आएका छन् ।