न्यूज डेस्क | जेठ ८, २०८३ शुक्रबार

ललितपुर जिल्ला अदालत ले मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगी प्रकरणकी मुख्य अभियुक्त ज्योति गुरुङ विरुद्ध २१ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक म्याद जारी गरेको छ।


ज्योति धनराज गुरुङ की पूर्वपत्नी हुन्। अदालतले बुधबार प्रकाशित सूचनामार्फत तोकिएको समयभित्र आफैं वा कानुनी प्रतिनिधिमार्फत प्रतिउत्तरपत्रसहित उपस्थित हुन निर्देशन दिएको हो।



अदालतको सूचनामा निर्धारित अवधिभित्र उपस्थित नभए कानुनअनुसार मुद्दा अगाडि बढाइने र त्यसपछि कुनै उजुरी नलाग्ने उल्लेख गरिएको छ।



अदालतका प्रवक्ता टीकाध्वज कार्कीले २१ दिने म्याद सार्वजनिक गरिएको पुष्टि गर्दै समयसीमाभित्र हाजिर नभए कानुनी प्रक्रिया अघि बढ्ने बताएका छन्।

प्रहरी अनुसन्धानअनुसार ज्योतिसहितका प्रतिवादीमाथि सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले गरेको थियो।

यस प्रकरणमा ज्योतिसहित ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध ६ असोज २०८१ मा पक्राउ पुर्जी जारी गरिएको थियो। ज्योतिबहादुरलाई कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याइए पनि जेन–जी आन्दोलनका क्रममा उनी फरार भएको उल्लेख गरिएको छ।

प्रहरीका अनुसार ज्योति गुरुङ हाल अमेरिकामा रहेको आशंका गरिएको छ र उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको छ।

यसबीच, सहकारीले ज्योति र धनराजबीच भएको सम्बन्धविच्छेद ‘कागजी’ मात्रै भएको दाबी गर्दै अपचलनमा धनराजको पनि भूमिका रहेको आरोप लगाउँदै आएको छ। सहकारीले धनराजले ३ फागुन २०७७ मा लिएको ऋणपत्रमा ज्योतिको नाम हकवालाका रूपमा उल्लेख भएको तथ्यलाई आधार बनाएको छ।

यो विषयलाई सांसद सूर्य थापाको नेतृत्वमा बनेको उच्चस्तरीय छानबिन समितिले समेत स्वीकार गरेको बताइएको छ।