प्राइम खबर संबाददाता | चैत २, २०७९ बिहिबार

चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक पार्टीका भातृ संगठनहरु विभिन्न रणनीति बनाउन व्यस्त भएका छन् ।

रौतहट जिल्लाको चन्द्रपुरमा रहेको जनज्योती बहुमुखी क्याम्पसमा मनोनयन दर्ता गराएका विद्यार्थी संगठनहरु तथा तिनका उम्मेदवारहरु चुनावी अभियान सँगसँगै रणनीती बनाउन लागि परेका हुन् । 



नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियन र बाम घटकहरुको संयुक्त गठबन्धन प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।  संयुक्त प्यानल बनाउनेहरुमा एमाले निकट अनेरास्ववियु, नेकपा एस निकट अनेरास्ववियू ,माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र जनमत पार्टी निकट विद्यार्थी जनमत संघ रहेका छन । 

अध्यक्ष , सचिव र कोषाध्यक्ष पदमा क्रमश एस, एमाले र माओवादीले भागबण्डा मिलाएको भएतापनि एउटा पार्टीका एकमात्र शीर्ष पदमा उम्मेदवार रहँदा आफ्नो उम्मेदवारलाई जिताउन विशेष रणनिती बनाउन आफ्नै पार्टी संगठन लागि परेको पाइएको छ।

सभापति पदमा नेविसंघ बाट संगम श्रेष्ठ, गठबन्धनको अनेरास्ववियूबाट राधेश्याम बैठा र समाजवादी  विद्यार्थी युनियनको तर्फबाट आशिष लामा उम्मेदवार रहेका छन् । यसैगरी सचिव पदमा नेविसंघ बाट मो. नौंसद आलम, गठबन्धन अनेरास्ववियुबाट दामोदर उप्रेती र सवियु बाट सुरज राउत उम्मेदवार रहेका छन् भने  कोषाध्यक्ष पदमा नेविसंघबाट संगिता चौधरी गठबन्धनको अखिल क्रान्तिकारीबाट अञ्जना केसी उम्मेदवार रहेका छन भने सबियुको तर्फबाट सिर्जना कुमारी चौधरीको उम्मेदवार रहेको भएतापनि उनको उम्मेदवारी खारेज भइसकेको छ। 

दाबी विरोधको समयमा सवियुको प्यानलमा रहेको कोषाध्यक्ष उम्मेदवार चौधरीको बिरुद्ध उजुरी परेपछि उनको उम्मेदवारी निर्वाचन समितिले खारेज गरेको हो। 

 जनमत विद्यार्थी संघ सहितको  गठबन्धनमा पछिल्लो समय गन्जागोल स्थिति पैदा भएको क्रान्तिकारीका एक विद्यार्थी नेताले बताए। पार्टीका केही नेताहरु आ -आफ्नो उम्मेदवारलाई मात्र काखी च्याप्ने काम गरेको हुँदा गठबन्धनमा नै अविश्वासको स्थिति पैदा भएको उनी बताउँछन्।