प्राइम खबर संबाददाता | चैत ६, २०७९ सोमबार

 चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ।

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जनज्योति बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका संगम श्रेष्ठ को प्यानल विजयी भएको हो। कुल २ हजार १५ मतदाता रहेको सो क्याम्पसमा १ हजार ३ सय ६ मत खसेको थियो।



नेवि संघका श्रेष्ठले १ हजार ३४ मत ल्याएर सभापतिमा विजयी भएका छन् भने  नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) एवम् नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु, जनमत पार्टीको विद्यार्थी जनमत संघको गठबन्धनबाट बनेको प्रगतिशील संयुक्त विद्यार्थी संगठनबाट उम्मेदवार बनेका राधेश्याम बैठाले १ सय ६५ मत प्राप्त गरेका छन्।

सभापतिका अर्का उम्मेदवार जसपा निकट समाजवादी विद्यार्थी युनियन नेपालका आशिष लामाले ७५ मत प्राप्त गरेका छन् । सचिवमा ९ सय ६१ मत ल्याएर नेविसंघका मो. नौसाद आलम विजयी भएका निर्वाचन कमिटीका संयोजक विनोद तिमल्सिनाले जानकारी दिए।

 समानुपातिकतर्फ पनि नेविसंघको नै पल्ला भारी हुन पुगेको छ । संयोजक तिमल्सिनाका अनुसार नेविसंघले ९ सय ६० मत ल्याउँदा अनेरास्ववियुले १ सय २२, समाजवादी विद्यार्थी युनियन, नेपालले ९५, अखिल क्रान्तिकारीले ७६, अनेरास्ववियूले ३६ मतमा चित्त बुझाएको छ । सभापति श्रेष्ठ लगायत विजयी उम्मेदवारहरुले आफूलाई मतदान गर्ने विद्यार्थी र निर्वाचनमा अहोरात्र खटेर सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै धन्यवाद र्याली निकालिएको स्वबियु सदस्य विकल कार्कीले बताए।