प्राइम खबर संबाददाता | बैशाख १८, २०८० सोमबार

रौतहटको चन्द्रपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिने क्रम तिव्र रुपमा बढ्दै गएको छ । 

रवि लामिछाने नेतृत्वको  रास्वपा प्रतिको आकर्षण पछिल्लो समय देशभर आक्रमण शैलीमा बढ्दै गइरहेको अवस्थामा रौतहट जिल्लाको उत्तरी भेग चन्द्रपुर अर्थात् प्रतिनिधि सभा क्षेत्र नंबर ४ को प्रदेश सभा क्षेत्र नं १ मा सो पार्टीको सदस्यता साता दिनमा दोब्बर भन्दा बढीले वृद्धि हुन पुगेको छ। 



चन्द्रनिगाहपुर स्थित रहेका स्थानीय युवा एबम् चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका युवा नेता उदय नारायण सापकोटाले एक साता अघि मात्र नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको घोषणा गरेका थिए। अहिले सो पार्टीको क्रियाशील सदस्य मात्र ६ हजार ३ सय ५६ पुगेको रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ । यो समाचार तयार पार्दा सम्मको पछिल्लो जानकारी अनुसार भर्खरै सदस्यता लिएका चन्द्रपुर ९ का हिरालाल फुयाँलको सदस्यता नंबर  ६३५६ रहेको छ ।

सापकोटाले कांग्रेस परित्याग गरी घण्टी अभियानमा लागेपछि अन्य व्यक्तिहरू समेत आफ्ना पुराना पार्टीका नेता कार्यकर्ताका कारण वाक्क दिक्क भएको हुँदा विचार र सिद्धान्तको राजनीतिबाट विमुख भएका नेतृत्वबाट मुलुकले निकास नपाउने भन्दै  परिवर्तनको बिगुल फुक्न घण्टी अर्थात् रास्वपामा लागेको गोपाल तिमल्सिना बताउँछन् ।

हाल रास्वपामा कांग्रेस, एमाले, एकीकृत समाजवादी, माओवादी र मधेशवादी दलका समेत कार्यकर्ताहरुले सुस्त तरिकाले प्रत्यक्ष रूपमा नभई परोक्ष रूपमा लागि परेको देखिन्छ। अधिकांसले सदस्यता लिँदा स्वतः स्फूर्त रूपमा अनलाईन फाराम भरेर सदस्यता लिएको देखिन्छ । सो पार्टीको सदस्यता शुल्क १ हजार रुपैयाँ रहेको छ। 

के हो रास्पवा ?

नेपाली जनतामा निहीत राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानी जनउत्तरदायी, जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन गर्दै नेपालको संविधानले परिकल्पना गरेअनुसार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरी नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरी, असार ०७, २०७९ मा सार्वजनिक घोषणा गरेसँगै, असार १७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको नेपाली राजनीतिक दल हो रास्वपा ।