प्राइम खबर संबाददाता | असार ११, २०८० सोमबार

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट गाउँसभा र नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । 
त्यस्तै नगरसभामा असार १० गते पेस गरेको नीति, कार्यक्रम तथा बजेट पेस गरेको १५ दिनभित्र गाउँसभा र नगरसभा सदस्यहरुको बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ । सोही अनुरूप धनुषाका कतिपय स्थानीय तहहरूले असार १० गते अघि नै नीति, कार्यक्रम तथा बजेट गाउँसभा र नगरसभामा स्थानीय तहहरूले पेस गरिसकेका छन् भने कतिपयले असार १० गते आइतबार पेस गरेका छन् । कतिपयले आन्तरिक विवादका बजेट पेस गर्न सकेका छैनन् ।


धनुषामा १८ वटा स्थानीय तह छन् । जसमध्ये एक उपमहानगरपालिका ११ नगरपालिका र छ वटा गाउँपालिका छन् । जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार नै नीति, कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गरिसकेको थियो । उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०र०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको छ । यस्तै सबैला नगरपालिकाले शनिवार नीति कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गरेको थियो । नगरपालिकाले अगामी आर्थिक वर्षका लागि अनुमानित ५९ करोडको बजेट ल्याएको छ । शनिबार भएको नवौँ नगरसभामा नगरप्रमुख कारीराम यादवले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०र८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यस्तै, क्षीरेश्वरनाथ नगरपालिकाले आव २०८०र०८१ को लागि ल्यायो ६८ करोड ९२ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ। हंसपुर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०र०८१ को लागि ४८ करोड ८२ लाख ४० हजारको बजेट ल्याएको छ। जिल्लाको कमला नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । पालिकामा केही आन्तरिक विवाद रहेको कारण आइतबार नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरिएपनि बजेट असार २७ गते प्रस्तुत गरिने जनाइएको छ ।



गणेशमान चारनाथ नगरपालिकाले आ।व।२०८०र०८१ को लागि ५२ करोड ७३ लाख ५ हजारको बजेट ल्याएको छ । यस्तै, धनुषाधाम नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०र०८१ को लागि ५४ करोड ४४ लाख ८३ हजार बराबरको बजेट विनियोजन गरेको छ । नगराईन नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ५४ करोड ६८ लाख ७५ हजार ७ सय रुपैयाँको बजेट नगरसभामा प्रस्तुत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जनाएका छन् । मिथिला बिहारी नगरपालिकाले ४४ करोड ८४ लाख ९८ हजार ४ सय रुपैयाँको बजेट ल्याएको हो ।



त्यस्तै पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ को लागि १० औँ गाउँसभाबाट कुल ४७ करोड ३३ लाख ९२ हजार १०० बराबरको  नीति कार्यक्रम तथा बजेट गाउँसभामा प्रस्तुत गरेको छ । लक्ष्मीनिया गाउँपालिकालले एघारौँ गाउँसभाबाट सुन्दर, समुन्नत र समृद्ध लक्ष्मीनियाँ गाउँपालिकाको नारासहित लागि ४५ करोड २७ लाख २८ हजारको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले पुँजीगत खर्चतर्फ ५९ प्रतिशत र चालु खर्च तर्फ ४१ प्रतिशत बजेट विनियोजन गरेको छ ।

बटेश्वर गाउँपालिकाले आइतबार नगरसभा समक्ष आ।व। २०८०र०८१ को लागि ३७ करोड २ लाख ८ हजार ४ सयको बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्माले जनाएका छन् । मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अगामी आर्थिक वर्षको लागि ४२ करोड ५३ लाख ७८ हजार बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले जनाएको छ ।

यस्तै, जिल्लाका पाँच वटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । आन्तरिक जनप्रतिनिधिहरुबीच आपसमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ । बजेट नल्याउने पालिकाहरू मथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिका रहेका छन् । यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको कारण बजेट ल्याउन नसकिएको बताइएको छ ।