प्राइम खबर संबाददाता | भदौ ७, २०८० बिहिबार

रौतहटको पूर्व पश्चिम राजमार्ग बागमती - चपुर सडक खण्ड अवरुद्ध भएको छ  । मंगलपुर चन्द्रपुर-१ मा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले उक्त ट्रकमा आगजनी सहित राजमार्ग अवरुद्ध गरेका हुन् । पच्छीम बाट पुर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा चन्द्रपुर १ का अन्दाजी ५५ वर्षीय बिमला कुमारी बिमलिको मृत्यु भएको हो । ट्रकको  ठक्करबाट घाइते भएकी विमलिलाई चालकले जानी जानि गाडी पछाडी ब्याक गरेर मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका हुन। ठक्कर दिने ट्रकका चालक फरार रहेका छन भने सहचालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ। आगजनी भएको ट्रकको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको दमकल समेत आक्रोशित स्थानीयले तोडफोड  गर्दा क्षति भएको छ । आक्रोशित स्थानीयले दमकलमा ढुङ्गा प्रहार गर्दा ना १ झ ६८८ नम्बरको उक्त दमकलको अगाडिको सिसा पूर्णरूपले फुटेको छ भने दमकल चालक कुमार बस्नेत समेत सामान्य घाइते भएका छन् । उनको आंखामा सिसाको टुक्राले लागेर चोट पुगेको घाइते बस्नेतले बताए।