न्यूज डेस्क | चैत १७, २०८० शनिबार

पृथ्वीराजमार्गको मुग्लिन नजिक शनिबार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ५ जनाको निधन भएको छ भने एकजना बेपत्ता छन् । बिहान सवा सात बजे बा २ ज ४१९६ को ट्याक्सी पृथ्वीराजमार्गको मुग्लिनदेखि एक किलोमिटर पर इच्छाकामना गाउँपालिका–५ सिमलधारामा दुर्घटना भएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार निधन हुनेमा ट्याक्सी चालक गोरखा–७ का ३५ वर्षीय अर्जुन सिर्मल र सोही ठाउँकी ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया र २८ वर्षकी अञ्जना रोकाया र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।

सडकदेखि झण्डै ७० मिटर तल नदीमा खसेको सो ट्याक्सीको आधा भाग डुबेको डिएसपी भण्डारीले बताए । ट्याक्सीमा रहेका गोरखा–७ का १८ वर्षीय दिवस रोकाया बेपत्ता छन् । उनको खोजी भइरहेको डिएसपी भण्डारीको भनाई छ । आफन्तको दाहसंस्कार गरी घर फर्कँदै थिए ।
गोरखा नगरपालिका(७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतकहरू एउटै परिवारका हुन् । यो समाचार तयार पार्दासम्म बेपत्ता रहेका दिवसका बुबा ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।



शंकरको निधनपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कँदै थिए । दुर्घटनामा परी मृत्यु भएका ७० वर्षीय जुनमाया रोकाया शंकरकी आमा हुन् । छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन् । हरिमाया र अन्जना उनकी छोरी हुन् । ट्याक्सी चालक जुनमायाका ज्वाँई हुन् भने ९ वर्षीय बालक पनि छोरीपट्टिका नाति हुन् ।
 शुक्रबार शंकरको दाहसंस्कारका लागि परिवारका अन्य सदस्य र आफन्तहरू पनि काठमाडौं पुगेका थिए । ‘एउटा माइक्रो बस र तीन वटा ट्याक्सी रिजर्भ गरेर उनीहरू गाउँ फर्कँदै रहेछन् । तीन वटामध्येको एउटा ट्याक्सी त्रिशुलीमा खसेछ,’ वडाध्यक्ष श्रेष्ठले भने ।