प्राइम खबर संबाददाता | मंसिर २१, २०७८ मंगलबार

रौतहटमा गएराती एक  युवकको हत्या भएको छ । रौतहटको चन्दपुर नगरपालिका वडा नम्बर १ मंगलपुर निवासी २८ वर्षीय गोपाल थिङ्गलाई घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर हत्या गरेको खुलेको छ ।
मृतकको हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय रबिन्द्र थिङ्ग, उनकै माइजू नाता पर्ने ४२ वर्षीय बुद्धिमाया पाख्रिन, र काठमाडौं घर भई ८÷९ दिन अगाडी आफन्त भेट्न आएका निजको मामा नाता पर्ने ३९ वर्षीय आशिष पाख्रिन रहेका छन् ।
उनीहरूले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।