प्राइम खबर संबाददाता | पुस ११, २०७८ आइतबार

सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन्। उनीहरुले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको सिरहा प्रहरीले जनाएको छ।

  किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर राउतका कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए। सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको प्रहरी स्रोतले बताएको छ । 

किसानले बिउ लगेपछि गाउँपालिकाको उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि  सो को विरोधमा जनमत पार्टीले आइतबार बन्दको घोषणा गरेको हो। प्रहरीका अनुसार सवारीसाधनमाथि तोडफोड हुन थालेपछि बल प्रयोग गरिएको जनाएको  छ।  प्रहरी र जनमतका कार्यकर्ताको  दोहोरो झडपको स्थिति सिर्जना भएपछि  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ।