प्राइम खबर संबाददाता | साउन ८, २०७९ आइतबार

झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
कचनकवल गाउँपालिका ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल( ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् । स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।



तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए । अहिले यस घटनाले गाउँ नै शोकमा डुबेको छ ।