प्राइम खबर संबाददाता | भदौ २, २०७९ बिहिबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नंबर २ स्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहीबार  बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएको र अस्पतालमा लगेपछि ३ जनालाई मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय चपुरले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् । उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार हुँदै छ ।

बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।